फागुन १७ । नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन्।
विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। इरानका सरकारी अधिकारीले शुक्रबारसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको बताए पनि अस्पताल स्रोतहरुले भने मृत्यु हुनेको संख्या कम्तिमा २१० रहेको बताएका छन्।
जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए।

विश्वव्यापी रुपमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ र झण्डै २८ सयजनाको मृत्यु भएको छ। संक्रमित तथा मृत्यु हुने अधिकांश चीनका छन् । चीनमै पनि अधिकांश हुबेइ प्रान्तको वुहान शहरका छन्।
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप स्वीट्जरल्याण्डले एक हजार जनाभन्दा बढी मानिस भेला हुने सबै कार्यक्रम मार्च १५ सम्मका लागि रद्द गरेको छ।
यस्तै आइसल्याण्ड, नाइजेरिया, मेक्सिको, न्युजिल्याण्ड, बेलारुस तथा नेदरल्याण्डसमा पनि कोरोनाको संक्रमण पुगेको छ । चार महादेशका यी ६ देशमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो।
विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको भए पनि कोरोनाको संक्रमण विश्वव्यापी महामारी भने नरहेको डब्लुएचओले बताएको छ।


























