चितवन, फागुन १३। निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका माडी नगरपालिका १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन्। ७ दिनदेखि अनशनमा बसेका पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुस खुवाएर अनशन तोडाएकी हुन्।
चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माडीवासीका माग पूरा गराउन आफू लागि परेको र समस्या समाधानका लागि नेतृत्व लिएको भन्दै आश्वासन दिएपछि वडाअध्यक्ष पाैडेलले अनशन तोडेका हुन्। हात्तीले मारेका व्यक्तिका परिवारलाई साक्षी राखेर अनशन तोडेका हुन्।
नेकपाका अध्यक्ष प्रचण्डले माडी जाने निकुञ्जभित्रको सडक चौबीसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तु बीचको द्वन्द्व निवारण गर्नु पर्ने लगायतका ७ बुँदे माग राखेर पौडेल अनशनमा बसेका थिए।
अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि भरतपुर अस्पताल भर्ना भएका वडाध्यक्ष पौडेलको जीवन रक्षाको माग गर्दै कांग्रेस चितवनले आन्दोलन गर्ने घोषणासमेत गरेको थियो। वडाअध्यक्षकाे अनशनप्रति जिल्लाका विभिन्न नौ दलले ऐक्यवद्धता जनाएसँगै नेकपाका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले माडीवासीकाे माग पूरा गर्ने आश्वासन दिएपछि अनशन ताेडेकाे कांग्रेस चितवनले जनाएकाे छ।
वडाअध्यक्षले अनशन ताेडेसँगै कांग्रेस चितवनले घाेषाणा गरेकाे आन्दोलनका सबै कार्यक्रम स्थगित गरेकाे छ। यसअघि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले फागुन ७ गतेबाट आमरण अनशनमा बस्ने घोषणा गरेका थिए। तर उनी अनशन नबसेपछि वडाध्यक्ष पौडेलले अनशन थालेका थिए।

























