काठमाडौं, फागुन १० । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ केन्द्रीय समिति र मुइन इन्टरनेशनल कम्पनी (ललितपुर)बीच विवाद देखिएको छ। क्यानले मुइनलाई सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक)को लागि मुख्य प्रायोजक नबनाउने निर्णय गरेको भन्दै मुइनले क्यान महासंघलाई जवाफ मागेको छ। क्यानले व्यवसाय र प्रतिष्ठामाथि नै आँच आउने गरी मुइनमाथि प्रतिबन्ध लगाएको भन्दै मुइनका म्यानेजिङ डाइरेक्टर सन्तोष गौतमले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएपछि दुई संस्थाबीचको विवाद सतहमा आएको हो।
क्यानले बिना कारण आफूलाई मुख्य प्रायोजकको रूपमा नलिन भनेर सबै जिल्ला शाखाहरूमा पत्राचार गरेर आफ्नो व्यइजत गरेको मुइनको आरोप छ। ‘हाम्रो कम्पनीलाई बिनाकारण बहिस्कार गरेको विषयले कम्पनी र व्यक्तिमाथि नै ठूलो आँच पुगेको मैले महसुस गरेको छु,’ उनले भने, ‘केन्द्रीय समितिले गरेको यो निर्णयप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ।’

विगतमा गरेका काममा कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नगरेको र बक्यौता रकमसमेत बाँकी नरहेको स्पष्ट पार्दै उनले थपे, ‘देशभरका नौ जिल्लामा क्यान इन्फोटक हुँदै गर्दा ती सबै जिल्लामा मुइनलाई मुख्य प्रायोजक नलिन भनेर केन्द्रीय समितिले ‘ह्वीप’ जारी गरेर कम्पनीको व्यइजत गरेको उनले बताए। ‘त्यो माइन्यूटमा ज–जसले हस्ताक्षर गरेका छन्, उनीहरूले सार्वजनिकरूपमा कारणसहित माफी माग्नुपर्छ, होइन भने कानुनी बाटो खोज्न बाध्य हुनेछु,’ उनले भने। क्यान महासंघको केन्द्रीय समितिलाई उनले फागुन ५ गते पत्र नै पठाएर जवाफ मागेका छन्।

मुइनका म्यानेजिङ्ग डाइरेक्टर गौतमले सामाजिक सञ्जालबाटै क्यान महासंघले यस वर्ष प्रायोजन गर्न रोक लगाए पनि सूचना प्रविधि क्षेत्रलाई आवश्यक साथ र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।

तर, क्यान महासंघको केन्द्रीय समितिले भने क्यानले के गर्ने र कोसँग काम गर्ने भन्ने विषयको अधिकार क्यानसँग मात्रै हुने भएकोले त्यसलाई अन्य व्यक्ति वा संस्थासँग सोधखोज गर्नुपर्ने विषय नभएको बताएको छ। ‘क्यान एउटा संस्था हो, कार्यक्रम हामीले गर्ने हो, त्यसैले कसलाई प्रायोजक बनाउने, कसरी कार्यक्रम गर्ने भन्ने अधिकार त हाम्रो कार्यसमितिभित्रको कुरा हो नि,’ केन्द्रीय अध्यक्ष नवराज कुँवरले भने।
उनका अनुसार गतवर्ष मुइन मुख्य प्रायोजक र प्रभु पे सह–प्रायोजक भएर काम गरेको संस्था हो। तर, यसपटक मुख्य प्रायोजक प्रभु पे बनेको छ। ‘हामीलाई मुख्य प्रायोजक चाहिएको हो, त्यसैले जसले पनि काम गर्न सहज हुनेसँगै काम गर्ने हो,’ उनले भने, ‘तर, हाम्रा लागि मुइन र प्रभु पे मात्रै होइन, सबै व्यवसायीक संस्था वा कम्पनी उत्तिकै महत्त्वपूर्ण छ।’
मुइनले गतवर्षको क्यान इन्फोटेकमा मुख्य प्रायोजक भएर काम गरे पनि पूरा रकम नदिइएकोले यसपटक मुख्य प्रायोजकमा दोहोर्याउन नसकिएको उनले बताए। ‘गतवर्ष क्यान इन्फोटेकको लागि मुख्य प्रायोजक बने पनि रकम पूरा नदिएपछि हामीले सामान नै उठाउन बाध्य भयौँ, त्यतिबेला उठाएको सामान अहिले पनि हामीसँगै छ,’ उनले भने, ‘त्यही सामान बेचेर प्रायोजकको खर्च उठाउने भनेको तर, सामान नै काम नलाग्ने रहेछ।’
यसवर्षदेखि प्रभु पेलाई दुईवर्षसम्म निरन्तर क्यान इन्फोटेकको लागि मुख्य प्रायोजक बनाउने निर्णय भएको उनले बताए। ‘तर, माइन्युट नै उठाएर हस्ताक्षर गरेको भन्ने कुरा सत्य होइन,’ उनले भने। प्रभु पेसँग दुईवर्षसम्म अन्य व्यवसायीक संघसंस्थालाई मुख्य प्रायोजक बनाउन नपाइने भनेर सम्झौता भइसकेकोले यसवर्ष र अर्को वर्ष प्रभु पे नै मुख्य प्रायोजकको रूपमा रहने पनि उनले स्पष्ट पारे।
‘त्यसैले हामीले कसैलाई पनि बन्दी बनाएका छैनौँ,’ अध्यक्ष कुँवरले भने, क्यानले कसलाई मुख्य प्रायोजक बनाउने, कसलाई सह–प्रायोजक बनाउने या नबनाउने भन्ने हाम्रो कार्यसमितिभित्रको आन्तरिक कुरा हो। तर, हामीले माइन्यूट नै बनाएर मुइनलाई समावेश गराउन हुन्न भनेका छैनौँ।’

























