काठमाडौँ, फागुन ८ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लगाइएको आरोप झुट रहेको भन्दै त्यसविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ।
एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनु पर्ने भन्दै बार्गेनिङ्ग गरेको अभियोग सञ्चारमन्त्री बाँस्कोटामाथि लागेको छ।
कमिसनका लागि स्वीस कम्पनीका नेपाल एजेन्टसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ्ग गरेको दाबी गर्दै अडियो टेप सार्वजनिक भएपछि उनी कानूनका जानकार तथा निकवर्तिहरुसँग परामर्शमा रहेका छन्।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस प्रकरणबारे जानकारी गराउँदै प्रेस खरिद प्रक्रिया जी–टू–जी अर्थात दुई देशका सरकारबिचको सीधा सम्पर्कमा हुने भएकाले कमिसनको गुन्जायस नरहेको दाबी गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएको निकटस्थ स्रोतले जानकारी दिएको छ। यसविरुद्ध कानूनी उपचारको प्रक्रियामा जाने तयारीमा बाँस्कोटा रहेको र त्यसका लागि छलफल भइरहेको जनाइएको छ।


























