काठमाडौँ, फागुन ५ । आइतबार अन्तिम समयमा रोकिएको पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाको फैसला सोमबार आउँदैछ।
महराका पक्षका आठ जना वकिलले आइतबार बहस सकेर फैसला सुनाउने तयारी गरे पनि काठमाडौँ जिल्ला आदलतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले फैसला तयार भइनसकेको भन्दै सारेका थिए। स्रोतका अनुसार फैसला तयार भए पनि आइतबार न्यायाधीश पौडेलले सुनाउने मिति एकाएक सारेका हुन्।
फैसला तयार भएर सुनाउने क्रममा रहेका न्यायाधीश पौडेल इजलासबाट उठेर चेम्बर छिरेर लगत्तै फर्किएपछि ‘आज सकिएन भोली फैसला आउँछ’ भन्ने निर्णय सुनाएका थिए।
त्यतिकैमा एक कर्मचारीले इजलासमा ‘पसेर आजै सुनाएको भए हुन्थ्यो’ भने पनि न्यायाधीश पौडेलले दुवै हात फैलाएर खोइ के हो भन्ने आशय प्रकट गरेको प्रत्यक्षदर्शी एक कानुन व्यवसायीले देश सञ्चारलाई बताए।
इजलास बाहिर प्रफुल्लित मुद्रामा वकिल र चिनेजानेकाहरुसँग गफ गरी रहेका प्रतिवादी महरा भने फैसला सोमबार सुनाउने भन्ने न्यायाधीशको निर्णय सुनेर निराश भएका थिए।
श्रेस्तेदार आन्दन श्रेष्ठले संभवत सोमबार फैसला आउने जानकारी दिए। आइतबार महराका पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनालीलगायतले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट गत माघ २६ गते नै चारजना सरकारी वकिलले बहस सकेका थिए।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।
असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ।


























