बेइजिङ, फागुन ४ । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्म १ हजार ६६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीले पछिल्लो एकै दिन थप १४२ जनाको ज्यान गएको हो।
उनीहरुले कोरोना संक्रमण थप २ हजार ९ जनामा देखिएको पनि जानकारी दिएका छन्। संक्रमितहरु चीनका ३१ वटा प्रान्तका छन्। थप मृत्यु भएकामध्ये १३९ जना हुबेई प्रान्तका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना छन्।
शनिबार मात्रै थप १९ सय १८ जनामा नयाँ संक्रमणको आशंका गरिएको छ। संक्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर बिरामी भएका छन्। १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन्।
कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन्। त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ।
उपचार गराइएकामध्ये ९४ हजार १९ जना घर फर्किएका छन्। आयोगले ५ लाख २९ हजार ४ सय १८ बिरामी नियमित सम्पर्कमा रहेको जनाएको छ। एजेन्सी

























