–टेकराज पोखरेल,
मेला महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रङ्ग रमाइलो कुराको मात्र याद आउने गर्दछ। तर, यी विषयभन्दा फरक प्रयास भेटिन्छ नवलपुर र चितवनका मेला महोत्सवमा।
मेला महोत्सवको यो आम सोचाइभन्दा यहाँको आकर्षण फरक पनि छ। यहाँका मेला महोत्सवममा विभिन्न जातजतिको सांस्कृतिक घर नै निर्माण गरेर नेपालको जातीय विविधिता र बहुसंस्कृतिको झलक दिन खोजिएको छ। जुन प्रयासलाई धेरैले राम्रो पनि मानेका छन्। यहाँका महोत्सवमा पुग्ने आम मानिसलाई फरक विषयवस्तुको जानकारी दिने प्रयास गरिएको छ।
महोत्सवस्थलको प्रवेश द्वारसँगै चेपाङ, दरै, कुमाल, भुजेल, मगर, थकाली, तामाङ, थारु र गुरुङ जातिका गरी नौवटा जातजातीका साँस्कृतिक घर निर्माण गरिएको छ।
यही माघको १५ गतेदेखि पूर्वी नवलपुरको गैँडाकोट नगरपालिकास्थित नारायणी नदी किनारमा जारी तेस्रो गैँडाकोट महोत्सवमा विभिन्न जातजातिको लोपोन्मुख सांस्कृतिक घर निर्माण गरिएका छन्। महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्रीसमेत महोत्सवस्थलका साँस्कृतिक घरमा राखिएका छन्।

जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुर गैँडाकोटका अध्यक्ष एवं तेस्रो गैँडाकोट महोत्सव–२०७६ का संयोजक अमृत भट्टचनका अनुसार महोत्सवस्थलको प्रवेश द्वारसँगै चेपाङ, दरै, कुमाल, भुजेल, मगर, थकाली, तामाङ, थारु र गुरुङ जातिका गरी नौवटा जातजातीका साँस्कृतिक घर निर्माण गरिएको छ। नौवटै साँस्कृतिक घर परम्परागत छन् र उनीहरुको धर्म र संस्कृतिबारे जानकारीसमेत लिन सकिने व्यवस्था मिलाइएको छ।
पहिलो महोत्सवमा तीन वटा मात्रै आदिवासी जनजातिको सांस्कृतिक घर निर्माण गरेको उद्योग वाणिज्य संघले तेस्रो संस्करणसम्म आइपुग्दा नौवटा जातजातिका घर निर्माण गर्न सफल भएको छ।
सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्न प्रदर्शन तथा बिक्रीका लागिसमेत राखिएको छ। ‘थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, माछाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ,’ उनले भने, ‘त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिकी, जाँतोलगायतका परम्परागत औजारसमेत राखिएका छन्।’
नौवटै जातिका घरमा उनीहरुले प्रयोग गर्ने परम्परागत, तर लोपोन्मुख सामग्री प्रदर्शन गरिएको छ। लोप हुन लागेको मौलिक संस्कृति संरक्षणको लागि महोत्सवस्थलमा आदिवासी जनजाति समुदायको मौलिक घर निर्माण गरिएको महोत्सव सचिवालय संयोजक छविलाल कँडेलले जानकारी दिए। ‘परम्परागत बस्ती र संस्कृतिबारे अहिलेको पुस्तालाई जानकारी नै छैन,’ उनले भने।
मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गर्दा सबै समुदायलाई जातजातिको संस्कृतिबारे जानकार र सचेत गराउन तथा संस्कृतिको पुस्ता हस्तान्तरणका लागिसमेत महत्वपूर्ण हुने उनले बताए। उद्योग वाणिज्य संघ गैँडाकोटले आयोजना गर्दै आएको महोत्सवको पहिलो संस्करणबाटै विभिन्न जातजातिको घर निर्माण गर्दै यसको प्रचारप्रसार गर्दै आएको छ। पहिलो महोत्सवमा तीन वटा मात्रै आदिवासी जनजातिको सांस्कृतिक घर निर्माण गरेको उद्योग वाणिज्य संघ गैँडाकोटले तेस्रो संस्करणसम्म आइपुग्दा नौवटा जातजातिको घर निर्माण गर्न सफल भएको उनको भनाइ छ।
‘क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘आगामी महोत्सवहरूमा सबै समुदायलाई समेट्ने गरी सांस्कृतिक घर निर्माणका लागि हामीले प्रयास गरेका छौँ।’
अहिलेको पुस्ताले सुन्ने मात्र गरेको गिठा, भ्याकुर, स्याखु, छत्रीलगायतका सामग्री सांस्कृतिक घरमा प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले उनीहरुमा पुरानो रहनसहन खानपिन र अन्य सांस्कृतिक जानकारीसमेत गराउने मेलामा उपस्थितको भनाइ छ।

नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको छ। हिमालका थकाली, पहाडका गुरुङ तथा तराईका थारु समुदायसहितका अन्य जातिको कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षणसमेत बढाएको महोत्सव प्रचारप्रसार तथा सञ्चार उप–समिति संयोजक शालिकराम सापकोटाले बताए।
महोत्सव अवलोकनका लागि पुग्ने व्यक्तिहरुले सांस्कृतिक घरको अवलोकनसँगै उनीहरुको मौलिक खानाको स्वाद लिन र संस्कृतिबारे बुझ्न सहज हुनेगरी प्रबन्ध मिलाइएको छ। आदिवासी जनजाति महासङ्घ गैँडाकोटका नगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरसमेत मेला महोत्सवमा राख्नुपर्ने बताए। ‘क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘आगामी महोत्सवहरूमा सबै समुदायलाई समेट्ने गरी सांस्कृतिक घर निर्माणका लागि हामीले प्रयास गरेका छौँ।’
आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै उनले थपे, ‘मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले आम मानिसमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्छ।’ देशका विभिन्न भू–भागबाट आएर नवलपुरमा बसोबास गरिरहेका जातजतिको पहिचान र उनीहरुको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको उनले बताए। गैँडाकोट नगरपालिका, आदिवासी जानजाति महासङ्घ र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको संयुक्त पहलमा मौलिकता झल्किने घर निर्माण गरिएको हो।
आफ्नो संस्कृति लोप हुने अवस्थामा पुगेका कारण महोत्सवमा आउने सबैले देखून् र जान्ने अवसर पाऊन् भनेर महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्न राखिएको अध्यक्ष गुरुङको भनाइ छ। महोत्सवमा प्रवेश गर्ने जोकोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरेको छ।
नवलपुरमा मात्रै नभएर चितवनतर्फ नारायणी नदी किनारमा हरेक दुई वर्षमा हुने चितवन महोत्सव तथा टिकौली चौरमा हुने रत्ननगर महोत्सवमा समेत आदिवासी जनजातिका सांस्कृतिक घर राख्ने गरिएको छ।
निकै कलात्मक तरिकाले निर्माण गरिएका घरको छानो खरले छाएका छन्। बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने कलात्मक आकृतिसमेत देख्न पाइन्छ। सांस्कृतिक घर निर्माणका लागि सोही जातिका कालीगढ प्रयोग गरिएको थियो। केही पहाडी गाउँमा परम्परागत घर केहीमात्रामा हुने गरेका कारण त्यहीँका कालीगढ ल्याएर घर निर्माण गरिएको महोत्सव मूल समारोह समिति संयोजक भट्टचनले बताए।

गाउँघरमा बुढापाकाको मुखबाट सुन्ने तथा किताबमा पढ्ने गरेको पुराना घर देख्दा युवापुस्ताले रमाइलो मानेका छन्। नवलपुरको कावासोतीबाट महोत्सव हेर्न आएका लक्ष्मण सुवेदीले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला, संस्कृतिबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए। ‘पहाडको घुमाउने घरबारे घरमा बुवाआमाले सुनाउने गर्नुहुन्थ्यो, तर कहिल्यै देख्न पाएको थिइनँ,’ उनले भने, ‘गण्डकी प्रदेशको पहाडमा हुने घुमाउने घर महोत्सवमा आउँदा देख्न पाएँ, यो खुसीको कुरा हो।’
पहाड घर स्याङ्जा बताउने सुवेदीले आफू पहाडमा पुग्दा घुमाउने घर हेर्ने रहर गरेको भए पनि आधुनिकतासँगै त्यस्ता घर देख्न नपाएको गुनासो गरे। तर, गैँडाकोट महोत्सवमा आउँदा तमू धीं (गुरूङको घर) आफूले सुन्ने गरेको घुमाउने घरको झल्को मेटाएको उनले बताए। महोत्सवमा उनले जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिने राम्रो भएको प्रतिक्रिया दिए।
जिल्लाको मध्यबिन्दु नगरपालिकाबाट गैँडाकोट महोत्सवमा आएकी आरती शर्माले जीवनमा कहिल्यै नदेखेको गिठा, भ्याकुर महोत्सवमा देख्न पाउँदाको फरक अनुभव सुनाइन्। ‘हाम्रो मौलिकता झल्किने सामग्रीले हाम्रो इतिहास, कला र संस्कृति बुझ्न त मद्दत गरेकै हुन्छ,’ उनले भनिन्, ‘साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनसँगै संस्कृति संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ।’ संस्कृति अध्ययन गर्ने विद्यार्थीका लागि शोधपत्र तयार पार्नसमेत यस्ता सांस्कृतिक घरले सहयोग गर्ने उनको भनाइ छ।
नवलपुरमा मात्रै नभएर चितवनतर्फ नारायणी नदी किनारमा हरेक दुई वर्षमा हुने चितवन महोत्सव तथा टिकौली चौरमा हुने रत्ननगर महोत्सवमा समेत आदिवासी जनजातिका सांस्कृतिक घर राख्ने गरिएको छ। यसरी राखिएका घरबाट एकअर्काको संस्कृति बुझ्नमात्र नभएर नेपालको पुरानो समाजलाई पनि जीवन्तता दिने रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजाराम रेग्मीले बताए।

रत्ननगर उद्योग वाणिज्य संघले गत पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन गरेको रत्ननगर महोत्सवमा पनि यहाँका आदिवासी र जनजातिका सांस्कृतिक घर राखिएको थियो। ‘समाज परिस्कृत हुँदै गएपछि उनीहरुले आफ्ना पुराना कला र संस्कृतिलाई बिर्सँदै गएका छन्,’ अध्यक्ष रेग्मीले भने, ‘त्यस्ता मौलिकता झल्किने विषयवस्तु हाम्रो अमूल्य गहना हुन्, तिनीहरुलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो।’
परम्परागत संस्कृति संरक्षण गरेर राख्न सकेको खण्डमा हाम्रो इतिहासलाई जीवितै राख्न सकिने र यस्ता कार्यले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने रेग्मीको भनाइ छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्नसमेत मौलिक संस्कृतिको प्रचारप्रसार र प्रदर्शन गर्नु आवश्यक रहेको अध्यक्ष रेग्मीले बताए। – रासस


























