काठमाडौं, माघ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नायरायणकाजी श्रेष्ठले कोही व्यक्ति भ्रष्टाचारी आरोपित हुँदैमा त्यसको विरोध गर्नु ठीक नहुने बताएका छन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गोरखा पुगेका श्रेष्ठले भने, ‘अख्तियार संवैधानिक निकायको छुट्टै अंग हो। अख्तियार सरकारबाट निर्देशित भन्ने प्रचार नै गलत छ। त्यसैले ललिता निवास प्रकरणमा अख्तियारले स्वतन्त्र रूपमा निर्णय गरेको छ, यसमा कसैले कसैको समर्थन र कसैको विरोध गर्नु आवश्यक छैन।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले भने ‘ललिता निवास’ प्रकरणकै विषयलाई लिएर संसद अवरूद्ध गर्दै आएको छ। यस विषयमा उनले थपे, ‘अख्तियारले कस्तो निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा होइन।’ नेपाली कांग्रेसले पनि ‘अख्तियार संवैधानिक निकायको छुट्टै अंग हो, सरकारले निर्देशन दिएर अख्तियार चल्ने होइन’ भनेर बुझ्नुपर्ने उनको सुझाव छ। ‘किनकि अख्तियारले बिना भेदभाव र बिना पूर्वाग्रह निश्कर्ष निकाल्छ भन्नेमा हामी विश्वस्त छौँ।’
प्रवक्ता श्रेष्ठले कोही व्यक्ति भ्रष्टाचारी सावित भएमा जुनसुकै पार्टीको भए पनि छाड्न नहुने दोहोर्याए। आफ्नो पार्टीको संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबारदेखि संसद अवरूद्ध गर्दै आएको छ।अख्तियारले बुधबार बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार आरोपमा कांग्रेसका उपनेता विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरूद्ध मुद्दा दायर गरेको छ।


























