चितवन, माघ २४ । सूचना प्रविधिले विश्वमै ठूलो फड्को मारिसकेको छ । त्यसमा पनि सबैभन्दा धेरै ‘इन्टरनेट’का प्रयोगकर्ता बढी छन्। भारतसहितका विभिन्न मुलुकमा सूचना प्रविधिको लागि अत्याधिक प्रयोग हुँदै आएको इन्टरनेट सेवा सस्तो छ। तर, नेपालमा भने त्यही इन्टरनेट सेवा ज्यादै महँगो भएको सरोकारवालाहरूले बताएका छन्।
‘छिमेकी मुलुक भारतलाई नै हेर्ने हो भने पनि इन्टरनेट सेवा ज्यादै सस्तो छ,’ कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले भने, ‘तर, नेपालमा भने त्यही इन्टरनेट सेवा सामान्य परिवारले चलाउन सक्ने अवस्था छैन।’ विकास र समृद्धिको नारा घन्काउँदै हिँडेको सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
सूचना प्रविधिलाई सामान्य व्यक्तिको पहुँचमा पनि रहने वातावरण मिलाउन सरकारले तदारूकता देखाउनुपर्ने जिल्ला शाखा चितवनका अध्यक्ष सन्तोषजनक भुसालले बताए। सूचना प्रविधिका सबै सेवामा नसके पनि अधिकांसले प्रयोग गर्ने इन्टरनेट सेवामा भने सहुलियतको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
नेपालमा सार्वजनिक स्थलहरूमा समेत निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गर्न सकेको छैन। मानिसहरूको चाप बढी हुने सार्वजनिक स्थल वरिपरी केही निजी कम्पनीले निःशुल्क सेवा प्रवाह गरे पनि सरकारी तवरबाट भने अहिलेसम्म कहीँ पनि सेवा दिन सकेको छैन। बसपार्क जस्ता क्षेत्रमा कहीँकतै सेवा प्रवाह गरे पनि प्रभावकारी बन्न सकेको छैन।
‘क्यान इन्फोटेक’ आजबाट सुरू
सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको पाँचौँ संस्करण चितवनमा शुक्रबारबाट सुरू भएको छ। कम्प्युटर एसोसियसन महासंघ (क्यान) महासंघ चितवनले आयोजना गरेको ‘प्रभु पे क्यान इन्फोटेक–२०२०’ को वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन्। माघ २८ गतेसम्म चल्ने प्रदर्शनीमा करिब ८० भन्दा बढी स्टल छन्।

कार्यक्रममा बोल्दै वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले प्रदेशका सबै जिल्लालाई सूचना तथा प्रविधिमैत्री बनाउने बताए। सूचना प्रविधिले विश्वमै ठूलो फड्को मारिसकेको भन्दै नेपाललाई पनि सूचना प्रविधिमैत्री बनाउन पर्ने बेला आएको बताएका हुन्। प्रदेश मात्र नभई केन्द्र र स्थानीय सरकारले पनि यसलाई विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

























