चितवन, माघ २४ । प्रथम चितवन प्रिमियर लिग टि-ट्वान्टी प्रतियोगिताको उपाधि राप्ती राइडर्सले जितेको छ। विजेता राप्तीले नगद दुई लाख सहित ट्रफि प्राप्त गर्दा उपविजेता सौराहा स्याण्ड्सले १ लाखमा चित्त बुझाएको छ।
नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनल खेलमा राप्तीले सौराहा स्याण्ड्सलाई ८ विकेटले हराएको हो।
सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७.४ ओभरमा दुई विकेटको क्षतिमा पार गर्यो। उसका लागि कप्तान तथा ओपनर ब्याट्सम्यान आकाश थापाले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी खेले।
म्यान अफ दि म्याच समेत घोषित भएका उनले ५७ बलको सामना गर्दै १० चौका र दुई छक्का प्रहार गरे। अर्का ब्याट्सम्यान साकार ढकाल भने ३२ रन बनाएर आउट भए। तेश्रो क्रममा ब्याटिङ गर्न आएका हरि बहादुर चौहान १८ रनमा नट आउट रहे।
हरि प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भए। सौराहाका तर्फबाट आकाश चन्द र सुवर्ण भट्टले एक(एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले २० ओभरमा तीन विकेट गुमाउँदै बोर्डमा १३९ रन टाँगेको थियो।
सौराहाका लागि राजेश ढकालले ५१ रनको योगदान दिए। प्रशान्त महतले अविजित ३६ रन जोड्दा रित गौतमले १९ रन बनाए। राप्तीका कमल थापाले २ तथा आकाश थापाले १ विकेट हात पारे।
प्रतियोगितामा राप्ती रेपिड्सका भीम सार्कीले वेष्ट ब्याट्सम्यानको पुरस्कार पाए। त्यस्तै, राप्तीकै आकाश थापा वेष्ट अलराउण्डर घोषित भए। वेष्ट बलर भने भरतपुर गुर्खाजका कृजन गुरुङ भए।
माघ १७ देखि २५ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न पाँच फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो।

























