काठमाण्डौँ, माघ २४ । आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन भएको छ।
माइतीघरमा भेला भएका कांग्रेस कार्यकर्ताहरुले सरकार विरोधी नाराबाजी गरेका छन्। उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले लगातार दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको छ।
गच्छदारलाई मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएकाले संसद र सडकबाट प्रतिवाद गर्ने कांग्रेसले निर्णय गरेको थियो। बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताएका थिए।
बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए। उनले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ। ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ। त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए।


























