काठमाडौं, माघ २४ । विष्णु माझी नेपाली लोकदोहोरी क्षेत्रमा अहिलेकी सबैभन्दा चर्चामा रहेकी गायिका हुन्। करिब दुई दशकदेखि एकछत्र राज गरिरहेकी गायिका माझी बेलाबेला चर्चामा आइरहन्छिन्। यतिबेला भने उनी पारिश्रमिकका कारण थप चर्चामा आएकी छन्।
केही समयअघिसम्म एउटा गीत गाएवापत नगद एक लाख रूपैयाँ पारिश्रमिक लिँदै आएकी गायिका माझीले हालसालै आफ्नो पारिश्रमिक एक लाखबाट बढाएर दुई लाख रूपैयाँ पुर्याएकाे चर्चा छ। स्टुडियोमा गीत गाउनेबाहेक कुनै पनि कार्यक्रम वा सञ्चार जगतमा नदेखिएकी गायिका माझीबारे सार्वजनिकरूपमै चासो भइरहेका बेला एउटै गीत गाएवापत दुई लाख रूपैयाँ पारिश्रमिक लिने चर्चाले समग्र लोकदोहोरी गीतसंगीतको क्षेत्रसँगै सामाजिक सञ्जाल तताएको छ।
यही विषयमा केन्द्रित रहेर गीतकार मीन दर्लामीमगरले आफ्नो फेसबुक स्टाटसमा विष्णु माझीसँग सहकार्य गरेर निकालेका एल्बमका नाम सार्वजनिक गर्दै लेखेका छन्, ‘हो म लक्की हो’ तपशिलका यस्ता गीतहरू गवाउन पाउने म। अब युट्युब र अडियोमा रहेका गीतहरू सुन्छु, हेर्छु र चित्त बुझाएर बस्छु म त।’ विशेष गरी लोकदोहोरी गीतसंगीत क्षेत्रका सर्जकहरूले एउटै गीत गाएको पारिश्रमिक दुई लाख रूपैयाँ अति महँगो भएको संकेत गरेका छन्।
‘बिष्णु माझीलाई २ लाखमा गाउन लगाउने पहिलो अघोरी कुन चाहिँ निस्कन्छ अब ?’ लोकदोहोरी गायक तथा सर्जक विमल डाँगीले प्रश्न गरेका छन्। गायिका माझीले पछिल्ला समय गाएका गीतहरू ‘सालको पातको टपरी हुने’, ‘साइँलो’, ‘लालुमै’, ‘सयको गुन तिरौँला हजारैले’, ‘वनमारा’लगायतका गीत चर्चित छन्।
‘डाली पलायो’, ‘डाली लर्कायो’, ‘पछ्यौरी लेऊ बैना’, ‘मायालुको बोली’, ‘सुपारी चाम्रो’ ‘ड्राइभर दाइ मन पयो मलाई’, ‘भैँसी पालेर’, ‘आकाश जुनकै हो’, ‘कसलाई सोध्ने होला’, ‘त्यो मन रून्न होला र’, ‘खहरेको भेल’, ‘हाँसेर बोलिदेऊ माया’, ‘लाहुरे दाइ छुट्टिमा आ’को’, ‘सितल दिने पिपल समी छ’, ‘गंगाजीको पानी’लगायत सयौँ गीत चर्चामा छन्।

























