काठमाण्डौं, माघ २३ । विशेष अदालतले ललिता निवास प्रकरणमा मुद्दा दायर भएका १ सय ७५ जनालाई अदालतमा उपस्थित हुन म्याद पठाउने तयारी गरेको छ। बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार पूर्वमन्त्रीसहित अन्यविरुद्ध जग्गा कीर्तेमा मुद्दा दायर गरेको थियो।
अख्तियारले बयानका लागि उपस्थित गराएका प्रतिवादीलाई पनि फरारी देखाएर मुद्दा दायर गरेकाले अदालतका तर्फबाट म्याद जारी गर्ने तयारी भइरहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए।
ललिता निवासको १ सय १४ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गर्दै व्यक्तिको बनाएर बिक्री भएको थियो।
उक्त प्रकरणमा नेपाली कांग्रेसका उपसभपति विजयकुमार गच्छादार, पुर्वमन्त्रीहरु चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्तविरुद्ध अख्तियारले विभागीय मन्त्रीको रुपमा जिम्मेवारी पूरा नगरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यस्तै तीन पूर्वसचिवहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियारकै पुर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई समेत भ्रष्टाचार मुद्दा दायर भएको थियो।
सुनुवाईमा ढिलाइ
अख्तियारले बयानका लागि उपस्थित गराएका प्रतिवादीहरूलाई फरार देखाएर मुद्दा पेस गर्दा अदालतमा सुनुवाईमा ढिलाई हुने भएको छ। प्रतिवादी साथै अभियोगपत्र पेश भएका लगत्तै बयान गराएर पुर्पक्षका लागि बहस गराउने सक्ने भएपछि फरार हुँदा समय लाग्ने प्रवक्ता पाण्डेको दाबी छ।
प्रतिवादी फरार हुँदा अदालतले पुन म्याद तामेल गर्ने प्रक्रिया अलवम्वन गर्ने भएकाले समय लाग्ने उनको भनाई छ। प्रतिवादी आफै हाजिर नहुने भएकाले उसको स्थायी वा अस्थायी ठेगानामा म्याद पठाउनु पर्ने र कुनै प्रतिवादीको लामो समयसम्म म्याद तामेल नहुने समस्या अदालतले भोग्दै आएको उनले बताए।
ललिता निवास प्रकरणमा पनि १ सय ७५ जना प्रतिवादी भएकाले म्याद तामेलीमा समय लाग्ने उनको तर्क छ। उनीहरूले म्याद वुझेपछि विशेषमा हाजिर गराएर बयान गराउँदै थुनछेक मुद्दा सुरु हुने उनले बताए।

























