काठमाण्डौं, माघ २२ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनको हार ब्यहोरेको छ। रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ७९ रनमा सिमित भयो। नेपालका शरद भेषावकरले सर्वाधिक ५५ रन जोडे।
विनोद भण्डारीले २६, दीपेन्द्रसिंह एेरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे। ओमानका बलर जिसन मकसुदले ३ र खालीमुल्लाहले २ विकेट हात पारे। बिलाल खान, मोहम्मद नदिम, खवर अली र अकिब इलियासको नाममा एक एक विकेट रह्यो। मकसुदले १० ओभरमा ३ मेडन राखेर ३० रनमात्र खर्चिए।
नेपालका पारस खड्का ३, ज्ञानेन्द्र मल्ल १, आरिफ शेख ६ रनमा आउट भए भने रोहित पौडेलले खाता खोल्न सकेनन्। शरद र विनोदले छैटौँ विकेटका लागि ४३ रनको साझेदारी गरे।
४ रन जोड्दा दुवै ओपनरलाई गुमाएको नेपालले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेको थियो। तेस्रो विकेटका रुपमा दीपेन्द्र सिंह एेरी व्यक्तिगत ३६ रनमा आउट भएपछि नेपाल लगातार दबाबमा आएको हो। शरद र सन्दीपले आठौँ विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नेपाललाई जितका लागि ३६ रन आवश्यक भएका बेला शरद आठौँ विकेटका रुपमा आउट भएका थिए।
यसअघि टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन जोड्यो।
ओमानका नदिमले अविजित ६९ रन जोडे। सन्दीप गौडले ३३, नसिम खुसीले २८ र जिसन मकसुदले २० रन बनाए। ५७ रन जोड्दा पाँच विकेट गुमाएको ओमानले छैटौँ विकेटका लागि ६० र आठौँ विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।
नेपालका करन केसीले चार र सुसन भारीले ३ विकेट लिए।


























