काठमाण्डौं, माघ १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन्।
गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन्।
४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह बनाइएको थियो। समूहगत छलफलपछि आएका निश्कर्षलाई हरेक समूहका नेताले केन्द्रीय कमिटीको बैठकमा शुक्रवार र शनिवार ब्रिफिङ गरेका थिए। त्यस्तै प्रदेश अध्यक्षहरु, विभागीय प्रमुखहरुले पनि बैठकमा विफ्रिङ गरेका थिए।
टोली नेताहरुले उठाएका प्रश्नहरुको विषयमा आज पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने छन् भने अर्का अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए। अध्यक्ष ओली उद्घाटन यता बैठकमा सहभागी छैनन्।
ओली–प्रचण्डबीच छलफल
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनका लागि भन्दै उनी बालुवाटार पुगेका हुन्।
अध्यक्षले जवाफ दिएसँगै आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिएको छ।