काठमाण्डौं, माघ १७ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ।
संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो।
अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ। उजुरी परेलगत्तै गृह मन्त्रालयले पनि उनलाई निम्लबन गरिसकेको छ।
आरोपमा सत्यता नभएको दाबी
प्रहरी अधिकृतहरुका अनुसार राणा २०६९ सालमा प्रहरी उपरीक्षक (एसपी) भएर सुनसरी बस्दा ती महिलासँग चिनजान भएको थियो। त्यसपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा पनि उनी बसेका थिए।
सुनसरी बसाइका क्रममा पीडित भनिएकी अन्दाजी ३७र३८ वर्षीया महिलासँग राणाको घनिष्ठ सम्बन्ध बनेको अधिकृतहरु बताउँछन्।
तर, हाल निलम्बित एसएसपी राणाले आरोपमा सत्यता नभएको दाबी गरेका छन्। उनले आफूमाथि लागेको आरोपबारे अन्य कुरा बताएनन्। भने, ‘केही दिनमै म यसबारे बोल्छु भने।’किटानी जोहरी परिसकेको विषयबारे जिज्ञासा राख्दा उनी ‘उजुरी’ मात्र परेको भन्दै पन्छिए।