काठमाण्डौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटि बैठकमा बिहीबारदेखि समूहगत छलफल हुँदैछ।
राष्ट्रियसभागृहमा बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रम अनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।
महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए। वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरे। त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे।
उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन्। समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ। अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुनेछ।
छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ। माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बैठक सञ्चालन हुने छ।