फाइल फोटो
चितवन, पुस २८ । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन्।
पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ।
सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए। केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो। घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठ वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा कालगतिले मरेका छन्।
गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए। अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए। गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन्।
कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ। सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए।
पछिल्लो गणनाअनुसार देशभर छ सय ४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ ससय पाँच वटा गैँडा फेला परेका थिए। यस वर्षको चैत्रमा गैँडा गणना गरिँदै छ।
पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ। रासस