चितवन, पुस २६ । अधिवेशन नजिकिँदै गर्दा चितवन उद्योग वाणिज्य संघको चुनावी माहोल निकै तातिएको छ। यही पुस २८ र २९ गते हुने ५३औँ वार्षिक साधारण सभा तथा अधिवेशनको लागि संस्थापन पक्षले गोलाप्रथामार्फत उम्मेदवारी टुंगो लगाएको थियो। संस्थापन बाहिरबाट भने ज्ञानेन्द्रमान शाक्यले विष्णुप्रसाद कँडेललाई वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनाएर प्यानल नै खडा गरेर उम्मेदवारी दिने बताउँदै आएका थिए।
यसरी हेर्दा अध्यक्षमा संस्थापन पक्षबाट राजु श्रेष्ठ र बाहिरबाट ज्ञानेन्द्रमान शाक्य चुनावी मैदानमा देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा भने चुननारायण श्रेष्ठ र विष्णुप्रसाद कँडेलको चुनावी मैदानमा देखिने पक्पापक्की भएको थियो। तर, शनिबार एकाएक माहोल फेरिएको छ। वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठलाई समर्थन जनाउँदै विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्।

वरिष्ठ बाहेक तीनजना उपाध्यक्ष निर्विरोध भइसकेकाले अबको भीडन्त अध्यक्ष पदमा बढी केन्द्रित हुने देखिएको छ। संस्थापन पक्षले राजु श्रेष्ठसँग वरिष्ठमा चुननारायण श्रेष्ठलाई मैदानमा ल्याउने सहमति गरे पनि श्रेष्ठ शाक्यको प्यानलमा आइसकेपछि वरिष्ठ उपाध्यक्षको पद पनि करिबकरिब निर्विरोध हुने सम्भावना देखिएको छ। शाक्यको प्यानलबाट उपाध्यक्षसहित केही कार्यसमिति सदस्यसमेत निर्विरोध भइसकोका छन्। तर, आफ्नै प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा चुनाव लड्ने सहमति गरेका वर्तमान वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गर्ने भएपछि निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ भने एक्लाे देखिएका छन्।