काठमाडौं, पुस २३ । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ। अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।
अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ।
इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ।
उसले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ। इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन्। आफ्ना सैन्य अखडामा भएको आक्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन्। यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ।
‘इराकमा रहेका अमेरिकी सेनामाथि भएको आक्रमणको रिपोर्टले हामी सतर्क छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेका छौं’, हृवाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै भनेकी छन्।
गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए। घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ। इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेका छन्।