चितवन, पुस १८। नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली नदीको सीमानाबाट पैदल यात्रामा निस्किएका दुईजना युवाले शुक्रबार साँझ झापाको काँकडभिट्टा मेची पुलसम्म पुगेर यात्रा पुरा गरेका छन्। दुईजना पैदलयात्री सुरेश उप्रेती र खगेन्द्रकृष्ण निरौलाले महाकालीबाट निस्किएको २९औँ दिनमा झापाको काकरभिटटास्थित मेची नदी पुल पुगेर एक हजार ३२ किलोमिटर लामो यात्रालाई बिट मारेका हुन्।

लामो समयदेखि पैदल यात्रामा रुचि राख्दै आएका पैदलयात्री उप्रेती र निरौलाले गत मंसिर २० गते सुदुरपश्चिमको कञ्चनपुर पुगेर भीमदत्तनगर नगरपालिकाको गड्डाचौकीबाट पैदलयात्रा सुरु गरेका थिए। पूर्वपश्चिम राजमार्गकै बाटो हुँदै निरन्तर यात्रामा निस्किएका उनीहरुले बाटामा पर्ने सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीसँग समन्वय गरेर यात्रा गरेका थिए।
नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पारौँ लेखिएको टिसर्ट लगाएर यात्रामा निस्किएका दुवैजनालाई शुक्रबार झापालीले भव्य स्वागतसहित सम्मान गरेका थिए। साथमा नेपालकाे राष्ट्रिय झण्डासमेत लिएर यात्रा गरेका दुई युवाले सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारी गरेकोले भ्रमण वर्षको पूर्वसन्ध्यामा यात्रा तय गरिएको बताए।

यात्राका क्रममा दुवैजनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरुसँग पनि संक्षिप्त भेट गरेर यात्राबारे जानकारी गराउँदै हिँडेका थिए। दुुवैजना विशुद्ध आफ्नै निजी खर्चमा करिब २९ दिनमा पश्चिम महाकालीबाट पूर्व मेचीसम्मको यात्रा पूरा गरेका हुन्। यात्राभर बीचमा एक दिन पानी परेर यात्रा बिथोलिए पनि बाँकी २८ दिन पूरा समय खर्चिएर यात्रा गरेको उनको भनाइ छ। उनका अनुसार दुवैजना सरदर दैनिक ३६ किलोमिटर हिँडेका थिए।