काठमाडौ, पुस १८। देशभर सञ्चालित कूल ५५ विमानस्थलमध्ये ३४ विमानस्थलको कालोपत्रे गरिएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले साना ठूला गरी ३४ विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न गरिएको जानकारी गराएको हो।
प्राधिकरणको २१औँ वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनअनुरुप साना आन्तरिक विमानस्थल डोटी, साँफेबगर, डोल्पा (जुफाल), लामिडाँडा, थामखर्क, विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्गको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ भने वैतडी, बझाङ, इलाम, गुल्मी रेसुङ्गा र कालीकोटमा भने कालोपत्रे गर्ने कार्य जारी छ।
लुक्ला र सिमिकोटमा बढ्दो पर्यटकीय गतिविधिका कारण हेलिकोप्टर उडान चापलाई दृष्टिगत गरी ठूला हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जोमसोम र जुम्ला विमानस्थलको ओभरले सम्पन्न गरिएको छ। ठूला आन्तरिक विमानस्थल विराटनगर विमानस्थलको धावनमार्ग तथा ट्याक्सीमार्गमा ओभरलेको कार्य, एप्रोन र टया्क्सी मार्ग विस्तारको कार्य सम्पन्न भएको छ।
नेपालगञ्ज विमानस्थमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले कार्य सम्पन्न भएको छ भने ६ वटा आन्तरिक वायुयान क्षमताको एप्रोन विस्तार कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ। चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले गर्ने कार्य सम्पन्न भएको छ।
पोखरा पुरानो विमानस्थलको धावनमार्ग, एप्रोन तथा ट्याक्सी मार्गको स्तरोन्नति गरिएको छ। यसैगरी चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा ‘फायर पाइटिङ भेहिकल’ का साथ उद्धार तथा अग्नि निवारण सेवा उपलब्ध गराइएको छ। राजविराज विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्ग ओभरले कार्य सम्पन्न भई नयाँ टर्मिनल भवन पनि निर्माण गरिएको छ।
ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। सोहीअनुरुप चन्द्रगढी, विराटनगर, राजविराज, नेपालगञ्ज तथा धनगढी विमानस्लको गुरुयोजना तयार भइसकेको छ। – रासस