मकवानपुर, पुस १८ । प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन आगामी २२ पुसको प्रदेशसभा बैठकमा मतदान हुने भएको छ। प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बिहीबार साँझ सम्पन्न बैठकले पुस २१ गते बस्ने प्रदेशसभा बैठकमा लैजाने अजेन्डा तय गरेको छ। बैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने र राजधानीका विषयमा पुस २२ गते चुनाव गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए।
पुस २१ गतेको संसद् बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम तय गरिएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकको पत्र पढेर सुनाउने, पाँचौं अधिवेशनको विषयमा सबै दलका प्रमुखहरूले शुभकामना दिने कार्यक्रम परामर्श समितिको वैठकले निर्णय गरेको मन्त्री जमकट्टेलले बताए। त्यसपछि मात्र प्रदेशको नामाकरणका सम्बन्धमा प्रस्ताव माग्ने कार्यक्रम छ।
कार्यव्यवस्था समितिको बैठकमा राजधानी र नामाकरणको विषयमा अधिकतम् सहमति खोजिएको बताइएको छ।