चितवन, २७ मंसिर। सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार शुक्रबार दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कसर खाँदा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन्।
घाइतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो।
त्यसअघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन्। काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिए।
घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहानै कुरिनटारमै भएको दुर्घटनामा छ जना घाइते भएका छन्। फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा एकापसमा ठोक्किँदा छ जना घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।
वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो। उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो।
घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पानी परेर चिप्लो भएको बाटोमा तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।