चितवन, २१ मंसिर। शनिबार साँझ अटो दुर्घटना हुँदा चितवनमा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका–५ स्थित चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिँदा एउटै अटोमा सवार पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी बाहेक अन्यको पहिचान खुल्न सकेको छैन। २६ वर्षिय एक पुरुषको भने भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भई उपचारका लागि भरतपुर ल्याइएकामध्ये तीनजनाको पुरानो मेडिकल कलेज र दुई जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो प्रहरीले जनाएको छ। दुर्घटनामा परेको अटो पूर्णरूपमा क्षतिग्रस्त भएको छ।





















