काठमाडौं, ०४ मंसिर। केही दिनयता पुनर्गठन गर्ने चर्चा चल्दै आएको मन्त्रिपरिषद् बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका छन्। केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन्। केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन्। नयाँ जिम्मेवारी सम्हाल्ने मन्त्रिहरूले बिहीबार बिहान शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मन्त्रिपरिषद् फेरबदल गर्ने क्रममा प्रधानमन्त्री ओलीले उप–प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई जिम्मा दिएका छन्। कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन्। हाल भारत भ्रमणमा रहेका मन्त्री यादव हालै सम्पन्न समाजवादी पार्टीको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरिएको नेकपा सचिवालय स्रोतले जनाएको छ।


रघुवीर, गोकर्ण र लालबाबुको मन्त्री पद खोसियो
पूर्व एमालेको कोटाबाट मन्त्री भएका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई मन्त्री पदबाट हटाइएको छ। यस्तै पूर्व माओवादी केन्द्रको कोटाबाट मन्त्री भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ।
यस्तै प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन्।
स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, भुसाललाई कृषि मन्त्रालय, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिएका छन्। उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय भने पार्वत गुरुङलाई दिइएको छ।
भट्टलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्य मन्त्रालयको जिम्मा दिइएको छ। उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल), परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी भने यथावत राखिएको छ।