काठमाडौँ, २७ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्मको लागि त्यहाँको राजकीय भ्रमणमा जाने भएकी छन्।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।
म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ। यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थानको भ्रमण गर्नेछिन्।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। – रासस


























