चितवन, २७ असोज। चितवनको एउटा कार्यक्रममा सहभागी हुन आएका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको आधा महिना बितिसक्दा पनि चितवन प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। चौबीसकोठीस्थित होटल ग्लोबलमा गाडीभित्रै युवाहरुको समूहले शाहीमाथि आक्रमण गरेका थिए।
तर, घटना भएको यतिका दिन बितिसक्दा समेत चितवन प्रहरीले दोषी पहिचान गर्न नसक्दा शाही समर्थकहरुले प्रहरीकै संरक्षणमा शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन्। घटना भएलगत्तै शाहीमाथि आक्रमण गर्दैगर्दाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पनि प्रहरी भने आक्रमणकारीको पहिचान खुल्न नसकेको बताउँदै आएका छन्। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल उक्त घटनाबारे प्रहरीमा जाहेरी नै नपरेको भन्दै पन्छिँदै आएका छन्।
तर, उनले अहिलेसम्म अनुसन्धानमै रहेको प्रतिक्रिया दिएका छन्। प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको छ, उनले भने, पीडितबाट किटानी जाहेरी नपरे पनि आफ्नो तर्फबाट अनुसन्धान भइरहेको छ, ढिलोचाँडो घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गरेर छाड्छ। तर, प्रहरीले अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न नसक्दा चितवन प्रहरीको तीव्र आलोचनासमेत हुँदै आएको छ।