चितवन, १८ असोज। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चितवनमा विभिन्न खालका कार्यक्रम सार्वजनिक हुँदै आएको छ। सम्भावनै सम्भावनाको खानी भएकै कारण चितवनका पर्यटन व्यवसायी यसतर्फ अग्रसर बन्दै गएका हुन्।
केही समयअघि मात्रै जलदेवी सामुदायिक वनले नेपाल भ्रमण वर्ष २०२० कै अवसर पारेर केही जिपलाइन सञ्चालन गरेको छ। उक्त जीपलाइनमा रमाउनेको भीड नै लागेको छ। जीपलाइन सञ्चालनबाट पर्यटन प्रवर्द्र्धनमा टेवा पुग्ने वनका अध्यक्ष केशवबहादुर थापाले बताए।
यही सिलसिलामा आयुष्मा मोटरबोट कम्पनी प्रालिले पनि नेपाल भ्रमण वर्षकै अवसर पारेर नारायणी नदीमा मोटरबोटमार्फत जलयात्रा सञ्चालनमा ल्याएको छ। चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमाना भएर बग्ने नारायणी नदीमा सञ्चालन गरिएको जलयात्राको चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं. १६ को काभ्रेघाटसम्मको ४५ दशमलव ५ किलोमिटरको दुरीमा सञ्चालन गरिएको हो।
कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीका अनुसार जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुनेछ। ‘तर, दुई महिनाभित्र अर्को ‘स्मल क्रुज’ थपेर तीनवटा बनाउने योजना छ,’ उनले भने। करिब सात महिनाअघि कम्पनीले नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको थियो। हाललाई १४ सिट र १० सिटको मोटर बोटबाट यात्रा सुरू गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।
नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्न मोटरबोट सञ्चालन गरिएको उनले बताए। मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ।