काठमाडौँ, १८ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम बुधारम सिंगापुर जाने भएका छन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ।
वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर जान लागेका हुन्। गौतम शुक्रबार प्रधानमन्त्रीसँगै स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ।
उपचारका लागि गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार नै सिंगापुर गइसकेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीको बुधबार अन्तिम अर्थात् सातौँ प्लाज्मा फेरिसस गरिँदैछ।


























