चितवन, १२ भदौ। चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या १३ पुगेको छ। निकुञ्जले राखेको खुला खोरमा भदौ ९ गते एक अर्नाले बच्चा जन्माएपछि संख्या १३ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष र जावलाखेल चिडियाखानाबाट ल्याइएको अर्नालाई चितवनको पुरानो पदमपुर क्षेत्रमा राखिएको छ।
वि.सं. २०७३ सालमा ल्याइएको उक्त अर्नाले गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए। हाल खोरमा दुई भाले र सात पोथी छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कोशीटप्पुबाट १२ वटा र जावलाखेलबाट ३ वटा अर्ना ल्याएकामा छवटा अर्ना मरेका छन्। पशु चिकित्सकले बाह्य शरीर हेरेर अन्य दुई अर्नाले पनि बच्चा जन्माउन सक्ने अनुमान गरेको जानकारी दिए।
हाल निकुञ्जभित्रको पुरानो पदमपुरमा २२ हेक्टर जमिनमा विद्युतीय पिसिसी मेस जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ। सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरी दुवै वन्यजन्तुको संख्या थप गर्ने तयारी गरिएको ढकालले बताए।
अर्नाले गर्भाधान भएको १० महिनामा बच्चा जन्माउँछ। अर्ना सिमसार क्षेत्रमा बस्न रूचाउने जनावर हो। त्यसैले अर्नाको लागि घाँसे मैदान तथा पानीको पोखरी भएको ठाउँ चाहिन्छ। अर्नालाई जंगली भैँसीको रूपमा पनि चिनिन्छ। त्यसैले भैँसीजस्तै अर्नालाई पनि खेल्नको लागि पानीको आहाल चाहिने भएकोले पोखरी निर्माणको लागि निकुञ्जले प्रयास गरिरहेको निकुञ्ज कार्यालयले जनाएको छ।
‘चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या बढाउनको लागि हामीले प्रयास गरिरहेका छौँ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘संख्या बढेपछि अवस्था हेरी बासस्थानको क्षेत्रलाई पनि थप बिस्तार गर्न सकिन्छ।’