काठमाडौँ, १० भदौ। सरकारले राजधानी बाहिरका चार स्थानमा रिसोर्ट बनाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौंबाहिरका चार गन्तव्यमा रिसोर्ट बनाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्।
एक वर्षको कार्ययोजना सार्वजनिक गर्दै मन्त्री भट्टराईले भने, ‘अबको छ महिनाभित्र रिसोर्टको सम्भाव्यता अध्ययन गरी मोडालिटी तय गरिसक्ने छ। तर, निजी क्षेत्रको सहभागितामा रिसोर्ट बनाइने छ।’
पर्यटनको विविधिकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमूनाको रूपमा पाथिभरा, शे–फोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा लोन्ली इकोरिसोर्ट सञ्चालनका लागि सम्भाव्यता अध्ययत गरी मोडालिटी तय गरिने उनले बताए।
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ। मन्त्री भट्टराईका अनुसार नेपाल पर्यटन बोर्ड र तारागाउँ विकास समितिलाई यसको जिम्मा दिइनेछ।