काठमाडौँ, ०८ भदौ। तीन महिनादेखि फैलिएको डेंगुले तीनजनाको ज्यान लिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दुई हप्तामा सुनसरी, डोटी र चितवनमा डेंगुको संक्रमणबाट एक–एकजनाको मृत्यु भएको भएको छ।
डोटीको दिपायल–सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्री मलासीको मृत्यु पुष्टि भएको छ । सुनसरी र चितवनमा मृत्यु भएको औपचारिक जानकारी महाशाखामा प्राप्त भए पनि नाम र ठेगानालगायत विवरण आधिकारिक रूपमा आउन बाँकी रहेको निर्देशक डा. विवेक लालले बताए।
यस वर्ष पहिलोपटक ३० वैशाखमा धरानका एक व्यक्तिमा डेंगुको संक्रमण देखिएको थियो। त्यसयता देशभर तीन महिनामा चार हजार तीन सयमा संक्रमण देखिएको छ। अहिलेसम्म डेंगु नियन्त्रणमा ल्याउन नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए। उनका अनुसार देशका ४२ जिल्लामा संक्रमण देखिएको छ।
सबै उमेर समूहमा संक्रमणको खतरा
डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिलाई प्रभावित पार्ने चिकित्सकहरूले बताएका छन्। काठमाडौंमा पनि एडिज नामक लामखुट्टे भएका कारण सहजरूपमा डेंगु सर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए। तर, बालबालिकामा संक्रमण छिटो हुने उनले बताए।
के हो डेंगु ?
डेंगु एक किसिमको भाइरल संक्रमण हो, जुन पोथी जातिको एडिज लामखुट्टेको टोकाइबाट सर्छ। सो लामखुट्टे सफा पानी जमेको ठाउँमा बसेर संक्रमण फैलाउँछ। घरवरिपरि सरसफाइ गरी पानी जम्न नदिनु नै डेंगुबाट बच्ने उपाय रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ। लामखुट्टेको टोकाइबाट जोगिन झुल, धूप वा क्रिम प्रयोग गर्न पनि सुझाव दिएका छन्।
डब्लुएचओ भन्छ– विश्वको आधा जनसंख्या डेंगुको जोखिममा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका आधा जनसंख्या डेंगुको जोखिममा रहेको बताएको छ। जलवायु परिवर्तनले लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज बनाएको डब्लुएचओको निष्कर्ष छ। डा. शेरबहादुर पुनका अनुसार तराईमा देखिँदै आएको डेंगु जलवायु परिवर्तनकै कारण हिमालतिर पनि फैलिएको छ। नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु परिवर्तनशील हुँदै गएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।