काठमाडौँ, ०८ भदौ। चितवनको नारायणगढस्थित होटल कंगारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।
महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।
प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं। ११ महादेवटारमा कोठा लिएको खुलेको छ।
पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो। पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन्। पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।
पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन्। कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन्। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन।
पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृत्युपछि सार्वजनिक भएको थियो। लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पत्रकार पुडासैनीको मृत्यु, लामिछाने र कँडेल पक्राउ परेको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस भइरहेको छ। लामिछानेका समर्थकले उनलाई फसाउन लागेको भनेर सडक आन्दोलनमा रहेको खबर आजको नागरिद दैनिकमा छ।


























