नवलपुर, २९ साउन। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलाको पुलमा ट्रक ठोक्किएपछि बाटो अवरूद्ध भएको छ। पूर्वबाट पश्तिमतर्फ गइरहेको ना ६ ख ४७१ नं.को ङक पुलमा ठोक्किँदा पुलको दक्षिणतर्फको भाग नै भासिएको इलाका प्रहरी कार्यालय अरूणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
पुल भासिएपछि प्रहरीले ठूला सवारीसाधन आवतजावतमा रोक लगाएको छ। साना सवारीसाधनलाई एकतर्फीरूपमा आवतजावत गर्न दिइए पनि ठूला सवारीसाधनको आवागमनमा रोक लगाएपछि सयौं सवारीसाधन तथा यात्रु जाममा फसेका छन्।
पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो नखुलाएसम्म ठूला सवारीसाधन चलाउन नसकिने प्रहरीले जनाएको छ। ट्रक हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम छ।