काठमाडौँ, २८ साउन। पछिल्लो पाँच दिनदेखिस्थिर रहेको सुनको मूल्य मंगलबार फेरि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार रूपैयाँमा कारोबार भएको छ। सोमबारसम्मा छापावाला सुन प्रतितोला ७० हजार रूपैयाँको दरमा कारोबार भएको थियो।
तेजावी सुनसमेत बढेको छ। तेजावी सुन प्रतितोला एक हजारले बढेर ७० हजार ७०० रूपैयाँ पुगेको छ। सोमबार तेजावी सुन प्रतितोला ६९ हजार ७०० रूपैयाँको दरमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला ८३५ रूपैयाँ पुगेको छ।
लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ।
विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए। चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ। –रासस