काठमाडौँ, १४ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउप–प्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो।’
भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख उनको भनाइ छ। सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै प्रधानमन्त्री ओलीले थपे, ‘विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पुर्याएर फिर्ता लिन्छ।
ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो। तर, यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्, योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए, त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गर्छन् ।’


























