चितवन, १० साउन। भू-मध्यसागरको किनारमा अवस्थित उत्तर अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीभन्दा १२० किलोमिटर परबाट आएका शरणार्थीको डुंगा लिबियाको समुद्री किनारमा डुबेको खबर छ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) को अनुसार उक्त घटनामा परी करिब एक सय ५० जनाको ज्यान गएको छ। जहाजमा सवार एक सय ५० जनालाई भने स्थानीय माझीहरूले सकुशल उद्धार गरेका छन्।
पानी जहाजमा सवार शरणार्थीहरू लिबियाबाट युरोप प्रवेशको लागि हिँडेका थिए। तर, जहाजमा कति यात्रु सवार थिए भन्ने अझै यकिन हुन सकेको छैन। र जहाज डुब्नुको कारण पनि खुल्न बाँकी नै छ।
के हो यस्ता शरणार्थीहरूको कथा?
प्रत्येक वर्ष हजारौं शरणार्थी जोखिमपूर्ण यात्रा गरी भू-मध्यसागर पार गरेर युरोप प्रवेश गर्ने कोशिश गर्छन्। यी मध्ये थुप्रै दुर्घटनामा पर्ने गरेका छन्।

यही मे महिनामा पनि ट्यूनिसियाको समुद्री किनार नजिकै यस्तै एउटा जहाज डुबेको थियो। जसकारण ६५ यात्रुको मृत्यु भएको थियो भने १६ जनालाई ट्यूनिसियाको नौसेनाले बचाएको थियो।
सन् २०१९ को पहिलो तीन महिनामा करिब १६ हजार शरणार्थी भूमध्यसागरको बाटो हुँदै युरोप पसेका थिए। यसको लागि भू-मध्यसागरको तीन रूटको प्रयोग गरिएको थियो। यो संख्या २०१८ को तूलनामा १७% ले कमी हो।
कमीको कारण भने सन् २०१७ देखि इटालीले लिबियाली सैनिकसँग मिलेर यस्ता शरणार्थीहरूलाई फेरी आफ्नै देश फर्काउन थाल्नु हो। यूएनएचसीआर लगायत अन्य मानब अधिकारबादी संस्थाहरूले भने यो कदमको बिरोध गर्दै आएका छन्। लिबियामा जारी हिंशा र शरणार्थीहरूमाथि हुने दुर्व्यबहारलाई देखाउँदै उनीहरूले यस्ता शरणार्थीहरूलाई जबरजस्ति देश फिर्ता पठाउनुको बिरोध गरेका हुन्।