गएरातिदेखि परेको अबिरल वर्षाका कारण चितवनको माडी क्षेत्रका खोलामा पानीको बहाव बढेको छ। कल्याणपुर, बनकट्टा, रिउ खोला र बाँदरमुढे आसपासमा लगातार वर्षा भएपछि माडीका सबैजसो खोलामा पानीको बहाव उच्च भएको हो।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार रिउ खोलामा पानीको बहाव सबैभन्दा उच्च भएको छ। उक्त खोलामा खतराको सूचक ३.८ मिटर रहेकोमा हाल पानीको बहाव ३.९४ रहेकोले आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै पानीको बहाव र सतह उच्च भएको माडीकै बाँदरमुढे खोलामा एउटा बस फसेको छ। आज बुधबार मध्यान्नको समयमा ना ४ ख ६३५९ नम्बरको यात्रुबाहक बस खोलामा फसेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक उमेश कोइरालाले जानकारी दिए।
बसमा चालक र सहचालक बाहेक कुनै यात्रु नभएकोले मानविय क्षती भने हुन पाएको छैन। फसेको बसलाई दुईवटा जेसिभीको सहायतामा बाहिर निकालिसकिएको भएपनि यातायात भने सुचारू हुन सकेको छैन। बाँकी ठाउँमा भने बाटो नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको वेवसाइट (http://hydrology.gov.np) ले माडीको रिउ खोलाले खतराको सूचक नाघेको जनाएको छ। माडीका केही बस्तीहरूमा पानी पसेर जलमग्न भएको छ। तर जिल्ला प्रहरी कार्यालय चितवनले भने सामान्य रहेको जनाएको छ।

पानी पर्ने क्रम नरोकिएकोले खोला आसपासका सर्वसाधारणलाई सतर्क रहन माडी नगरपालिकाले आग्रह गरेको छ।


























