चितवन, ३१ जेठ। हृदयघातको कारण निधन भएका पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम (डीआर) पौडेलको श्रद्धाञ्जलीको लागि नेकपाका शीर्षनेताहरू आज चितवन आउँदैछन्। पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतमलगायतका केन्द्रीय तहका नेताहरू चितवन आउन लागेका हुन्। गृहमन्त्री रामबहादुर थापा (बादल) भने आजै अर्को कार्यक्रमको लागि चितवन आउने निश्चित भइसकेको थियो।
पार्टीमा पौडेलको जिम्मेवारी:
डीआर भनेर चिनिने नेता धनीराम पौडेलको ५६ वर्षको उमेरमा आज बिहान माडीमा निधन भएको हो। बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि.सं.२०२२ कार्तिक ४ गते स्वाङ्जा दरौँमा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।
मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरू गरेका पौडेल २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालीन नेकपा (एकताकेन्द्र) विभाजनपछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजकसमेत भएका थिए।
२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका पौडेल २०४४ मा पार्टीको चितवन जिल्ला सदस्य बने। अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्यसमेत भइसकेका उनी २०५१ को पार्टी विभाजनपछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका थिए। उनले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकमा सम्पादकको भूमिकासमेत निर्वाह गरेका थिए।
तात्कालीन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालीन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भए। चितवनको माडी माविबाट एसएलसी दिएका पौडेलले सहिद स्मृति क्याम्पसबाट आईए र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका थिए।
माडी नगरपालिका–५ मा निर्माणाधीन घर ढलानका लागि उनी ५–६ दिन अगाडि मात्रै माडी आएका थिए। आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन निस्किए। सोही समयमा उनका एक साथी आएर गफ गर्दैगर्दा अचानक लडेका पौडेललाई तत्कालै बघौडा अस्पताल पुर्याइएको थियो।


























