चितवन, ३१ जेठ। पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको बिहान निधन भएको छ। हृदयाघातका कारण माडीस्थित आफ्नै निवासमा निधन भएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पूर्वमन्त्री पौडेलको निधन भएको हो।
माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो। तर, अस्पतालले निधन भइसकेको बताएको हो। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए। उनको श्रीमती र दुई छोरी छन्।
पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका नेताहरु चितवन आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। पौडेलको शव बघौडा अस्पतालमा राखिएको छ।


























