काठमाडौँ, १२ जेठ। सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा उनीहरु कानूनी झमेलामा परेका छन्। हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आइतबार बिहान नियन्त्रणमा लिइएको हो। राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन।
पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ। उनीहरुले सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्काे ढुङ्गा ल्याएका थिए। सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरेको हो।
वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए। कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए। यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने उनले बताए। पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए।
‘हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुन सक्छ, तर कानुनको अनभिज्ञता क्षम्य हुँदैन, यो कानुनको सिद्धान्त हो,’ उनले भने, ‘कानुन जानेको छैन भन्दैमा उसलाई सजायबाट छूट हुँदैन।
संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न पाइँदैन।
त्यसैले हरेक मान्छेले कानुन जानेको हुन्छ भनेर कानुनले व्याख्या गरेको हुन्छ। अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्न पुग्छ।’ -रासस


























