सोलुखुम्बु, ०३ जेठ। वसन्त ऋतु सुरू भएदेखि बिहीबारसम्म ६५ जना आरोहीले सगरमाथाको शिखर चुमेका छन्। मौसम अनुकूल भएपछि यो यामको आरोहण मंगलबारदेखि सुरू भएको हो। मंगलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए।
पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेका छन्। पाँच समूहका १२ ले लोत्से आरोहण गरेका उनले बताइन्। यस्तै ४३ जनाले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका उनको भनाइ छ।
पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन्। तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन्। लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन्। बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने संकेत दखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ। हिमाल आरोहणलाई साहसिक कार्यको रूपमा लिइन्छ। सोही साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन्। सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण सुरू भएको हो। विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले योवर्ष करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।