चितवन । शुक्रबार साँझ आएको भीषण हावाहुरीसहितको वर्षातका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ। भरतपुरको भोजाड, बसेनीलगायतको क्षेत्रमा सालको रुख ढलेर च्यापिँदा उनीहरुको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे विवरण संकलन गरिरहेको जनाएको छ।

ठाउँठाउँमा रुख ढलेर विभिन्न खालका सवारीसाधनमा क्षति पुगेको छ। ट्रक, साना सवारीसाधन, मोटरसाइकलहरुमा बढी क्षति पुगेको प्रहरीको अनुमान छ। कतिपय स्थानमा रुख ढल्दा घरमसेत भत्काएको खबर आएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

ठाउँठाउँमा भएको अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए। स्थानीयसहितको सहयोगमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बाटोमा ढलेको रुख काटेर पञ्छाउने प्रयास गरिरहेको उनले बताए। अहिले भरतपुरका अधिकांश क्षेत्रमा विद्युतसमेत अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।

सिनर्जी एफएमको टावर पनि भाँचिएको छ। रेडियोको नियमित प्रशारण रोकिएको एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जानकारी दिए। नारायणी नदीमाथिको पुलमा बिजुलीको पोल नै ढालेको छ। भरतपुर हाइटमा रहेको होटल रोयल सेञ्चुरी र भरतपुरको साझा पेट्रोल पम्पमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। सोही हावाहुरीले भरतपुर-७ कृष्णपुरमा रहेको खेलकुद मैदानको पर्खालमेत लडाएको छ।



























