चितवन । भरतपुरमा गत वैशाख ३१ गतेदेखि स्थानीय तह निर्वाचनको मतगणना जारी छ। तर पाँच दिन बितिसक्दासमेत बल्ल ३८ प्रतिशत मतगणना सम्पन्न भएको छ। हालसम्म ९ वटा वडाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना ढिलाई भएको चौतर्फी गुनासो आएपछि अहिले १५ ठाउँबाट मतगणना भइरहेको कार्यालयले जनाएको छ।
हालसम्मको मतपरिणाम हेर्दा नेकपा एमालेका नेता विजय सुवेदीभन्दा गठबन्धनकी उमेदवार नेकपा माओवादीकी रेनु दाहाल ३३१५ मतले अगाडि छिन्। एमालेका नेता सुवेदीले आफ्नो पकड क्षेत्र भनेर दाबी गरिएको वडामा समेत खास मत पाउन नसकेपछि नेकपा एमालेलाई भने चिन्ता थपिएको छ। हालसम्मको तथ्यांक हेर्दा सुवेदीले वडा नम्बर ११ बाट १९१ मत पाइरहँदा रेनु दाहालले १८० मत पाइसकेकी छन्। ११ नम्बरको ४५० मत गणना हुँदा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले समेत ३९ मत पाएका छन्।
सोही वडामा एमालेका वडाअध्यक्षको उमेदवारले २४० मत पाउँदा नेपाली कांग्रेसका उमेदवारले १४६ मतमात्रै पाएका छन्। यो तथ्यांक हेर्दा वडा अध्यक्षको तुलनामा मेयरले अत्यन्तै कम मत पाएका छन्। यसले पनि सुवेदीले आफ्नो सबैभन्दा राम्रो मानिएको वडाबाट समेत अपेक्षा गरेअनुसारको मत पाउन नसकेको देखिन्छ। वडा नम्बर ११ मा मात्रै ९०८१ मत खसेको थियो।
हुन त वडा नम्बर १२, १६, २२, २९ लगायतका वडालाई पनि एमालेको राम्रो मत आउने वडा भनेर दाबी गर्दै आएको छ एमालेले। १८, १९ र २० मा दलगत हिसाबले नेपाली कांग्रेस बलियो मानिए पनि सुवेदीको व्यक्तिगत छविका कारण राम्रो मत आउन सक्ने आँकलन पनि सुवेदी निकट स्रोत बताउँछ।
तर सबैभन्दा ठूलो अपेक्षा गरिएको भरतपुरको वडा नम्बर १० र ११ बाटै सन्तोषजनक मत पाउन नसकेपछि भने चिन्ताको विषय बनेको छ। हालसम्मको नतिजा हेर्दा रेनु दाहालले रेनु दाहालले १८४८० मत ल्याउँदै गर्दा विजय सुवेदीले बल्ल १५१६२ मत ल्याएका छन्। अहिले वडा नम्बर १० र ११ को मतगणना जारी छ। वडा नम्बर १२ भने सुवेदीको आफ्नै वडा हो। उनले सोही वडाको मोहन माविबाट मतदान गरेका थिए।
Facebook Comments


























