काठमाडौं १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्दै अरुलाई अनावश्यक गाली गर्नु र आरोप लगाउनु कुनै नौलो कुरो नभएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता थापाले मुखमा अँगार हुनेले ओकल्ने पनि कालै भएकोले ओलीका आरोपलाई वास्ता गर्नु आवश्यक नरहेको बताएका हुन्।
‘जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो’, थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन। म त पार्टीको कार्यक्रममा थिएँ। त्यसपछि उहाँहरुले भन्नुभयो। तपाईँलाई त उहाँले पागल भन्नुभयो। मैले भनेँ ठीक छ। मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ? केपी ओलीले झूट बोल्नुहुन्छ। कोही आँट भएको मान्छे आएर तपाईं झूट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ।’
पहिला पनि ओलीले गोविन्द केसी र सुशीला कार्कीहरुलाई पागल भनेको भन्दै थापाले भने, ‘सनक्क सन्किसकेपछि ओलीले भन्ने शब्द नै पागल हो।’ नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए।


























