चितवन । सहिदचोकदेखि कचपचेचोकसम्मको करिब तीन किलोमिटर सडक निर्माणको सम्झौता मिति सकिएको डेढवर्षभन्दा बढी भइसक्यो। २०७५ सालको असार २६ गतेदेखि काम थाल्ने गरी सोही दिन सघन सहरी विकास कार्यालयसँग सम्झौता गरेको निर्माण कम्पनीले जम्मा दुई वर्षमा काम सकाउनुपर्ने भनेर ठेक्का लिएको थियो।
तर, २०७७ सालको असार मसान्तभित्रै सकाउनुपर्ने काम अहिलेसम्म पनि नसकिएपछि स्थानीयले बेलाबेलामा आन्दोलन चर्काउँदै आएका छन्। कहिले वडा कार्यालय, कहिले महानगरपालिका त कहिले सघन सहरी विकास कार्यालयमा नाराबाजी गर्न पुगिरहेका छन्। आन्दोलन गरेर सरकारी कार्यालय घेर्न गएपछि दुई दिन काम गरेजस्तो गर्ने ठेकेदार भने लुक्दै हिँडेका छन्।
वडादेखि महानगर हुँदै सहरी विकास कार्यालयमा समेत उपस्थित नभई काम गर्छु भन्दै टार्दै आएका छन्। ती ठेकेदारको कामबाट सरकारी कार्यालयसमेत आजित भइसकेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केही दिनअघि स्थानीयले गरेको आन्दोलनका क्रममा स्थानीयलाई लक्षित गर्दै भनेकी थिइन्, ‘त्यो बाटोको विषयमा तपाईँहरु जति चिन्तित हुनुहुन्छ, त्योभन्दा बढी चिन्ता त महानगरलाई छ।’

सघन सहरी विकास कार्यालयमा बुधबार कार्यालय समयमै स्थानीले घेरा हाल्न पुगेपछि कार्यालयका आयोजना प्रमुख प्रकाश अर्याल पनि ठेकेदारको मनोमानीले कार्यालयका सबै कर्मचारी वाक्कदिक्क भइसकेको बताए।
स्थानीयले सहरी सघन विकास कार्यालयमै नाराबाजी गरेपछि कार्यालयले निर्माण कम्पनी रमन शिवशक्ति जेभी हेटौँडाका प्रतिनिधि बोलाएर कार्यालयमै स्थानीयसहित छलफल गराएका छन्। उक्त छलफलबाट तत्काल काम गर्ने कागजी आश्वासन पाएपछि स्थानीय त्यहाँबाट फर्किएका थिए।
स्थानीय डा केशवभक्त सापकोटाका अनुसार बुधबार आयोजनाको कार्यालय नै घेराउ गरेर तालाबन्दीसमेत गराएपछि सोही दिनको साँझबाट बाटोमा पानी हाल्ने कामसमेत सुरु भएको छ। बुँदागतरुपमा तयार पारिएको सहमतिपत्रमा निर्माण कम्पनी र आयोजनाको कार्यालयबीचमा २०७८ चैत अन्तिमसम्ममा सबै काम सकाउने निर्णय भएको छ।
आयोजना कार्यालयका प्रमुख अर्यालका अनुसार हाल भएको सहमतिपत्रअनुसार काम नभई ठेक्का तोड्ने र कालो सूचीमा राख्ने निर्णय भएको छ। संघीय सरकारको सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्याकेज नं. २ मा पर्ने यो सडक निर्माणको लागि कुल ६८ करोड २३ लाख १५ हजार रुपैयाँ बजेटमा उक्त काम सुरु भएको थियो।



























