काठमाडौं, फागुन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन्। ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं। सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको बताए।
‘समावेशी लोकतन्त्र, इन्क्लुसिभ डेमोक्रेसी, यो प्रयोगमा छ। यसका विरुद्ध विभिन्न कोणबाट प्रहार पनि भइरहेका छन्, त्यो प्रहार विरुद्ध हामी संघर्षरत पनि छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘अहिले पनि समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरामा सार्वजनिक नीजि र सहकारीको समन्वयात्मक नयाँ मोडलको विकास गर्ने कुरामा विवाद र बहस कायमै’ रहेको बताए।
उनले त्यस्तो मोडललाई ठिक ढंगले विकास गर्न नसकिएको बताए।


























