काठमाडौं, फागुन २२ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने, केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय थियो। तर, पदाधिकारी चयनमा नेताहरुबीच भागबण्डा नमिलेपछि भोलि बिहान ११ बजेसम्मलाई बैठक नै स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) ले बताए।
गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो। त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो।
माओवादीमा अध्यक्षबाहेकका अन्य पदाधिकारी पद हालसम्म खाली छ। माओवादीको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ। तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमा सबैको हानाथाप छ।
माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतले दावी गरेका छन्। तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ।
यस्तै केन्द्रीय कमिटीलाई पूर्णता दिन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा पनि आकांक्षी धेरै हुँदा व्यवस्थापनमा चुनौति देखिएको बुझिएको छ।


























