काठमाडौं, फागुन १६ । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ।
राष्ट्रिय जनमोर्चाको आज (सोमबार) बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसिसी पारित गरेकोप्रति असहमति जनाउँदै उक्त घोषणा गरेको हो । ‘पाँचदलीय गठबन्धनभित्रका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन षड्यन्त्र, जालझेल र तिकडम गरेको आरोप जनमोर्चाले लगाएको छ ।
देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध खडा भएको पाँच दलीय गठबन्धनलाई कायम राखिरहनुपर्ने औचित्य समाप्त भएकाले अलग हुने निर्णय गरिएको जनमोर्चाले बताएको छ ।
‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकाले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणा गर्दछौं,’ बैठकपछि जनमोर्चाले भन्यो ।
एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरिनु निन्दनीय भएको सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । ‘सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध गर्दछौं,’ उनले भने ।
जनमोर्चाको बैठकले एमसिसीबारेको व्याख्यात्मक प्रस्तावलाई समेत औचित्यहीन ठहर गरेको छ । एमसिसीविरुद्ध आफ्ना कार्यकर्तामा देखिएको आक्रोशलाई मत्थर पार्न मात्र माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाएको जनमोर्चाले बताएको छ ।
‘अन्तिम अवस्थामा आएर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टी घोर विरोध तथा भर्त्सना गर्दछ ।’ जनमोर्चाले एमालेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ ।
‘राष्ट्रियताजस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिते गैरजिम्मेवार व्यवहार र प्रकारान्तरले एमसिसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भर्त्सना गरेको छ,’ जनमोर्चाले बताएको छ ।
जनमोर्चाले फागुन १९-२२ सम्म देशव्यापी रूपमा जिल्ला तथा स्थानीय स्तरका विरोधसभाहरु गर्ने पनि जनाएको छ ।


























